इटहरीः इटहरीको दियालो होटल एण्ड लजमा कोठा बुक गरेरै यौन धन्दा चलाउने समूहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । मंसिर २२ गते ८ भारतीय नागरिकसहित २ महिला र होटलका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
होटलमा यौन धन्दा चलाउँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा भारतीयसहित नेपाली युवती भेटिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा होटलका व्यवस्थापक इटहरी–२ का रविन साह र दलाल बन्ने सप्तरी कञ्चनपुर– २ का योगेन्द्र मालाकार छन् । मालाकारले भारतीय ग्राहक खोजेर ल्याउने र साहले होटलको व्यवस्थपन गर्ने गरेको प्रहरीको भनाइ छ ।
एक जना महिलासँग ४ जना पु?षलाई संसर्ग गर्न लगाउने र एक रातको ४ हजार भारतीय ?पैयाँ लिने गरेको प्रहरीको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जानकारी दिएको छ । सो समूहबाट पीडित २ जना महिलाको पनि उद्धार गरिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी, पक्राउ पर्ने भारतीय नागरिकमा भारत पटनाका २८ वर्षीय रविकान्त निराला, कटियारका ३८ वर्षीय प्रभाकरकुमार साह, सोही ठाउँका ३६ वर्षीय सुमनकुमार मण्डल, सुपौल कैयाका २७ वर्षीय दिपेशकुमार मेहता र कटियार मनिहारीका ३४ वर्षीय ललनकुमार मण्डल रहेका छन् । त्यस्तै, कटियारकै १८ वर्षीय कुन्दनकुमार ठाकुर र सोही ठाउँका ३६ वर्षीय विजय केवड तथा पान्तपुर कटियारका ३२ वर्षीय निरजकुमार मण्डल पनि पक्राउ परेका छन् ।
उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको स्कारपियो पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, महिला तथा युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
इटहरी प्रहरी प्रमुख डिएसपी शिवकुमार श्रेष्ठका अनुसार होटल सञ्चालक रितेश श्रेष्ठ सम्पर्कमा आएका छैनन् । व्यवस्थापक साहले होटल सञ्चालनको अख्तियारी कागजी रूपमै आफूले लिएको बताए पनि त्यसबारे अनुसन्धान गरिने र को–को संलग्न छन् तिनलाई तानिने श्रेष्ठले बताए ।
‘हामी जोकोही संलग्न होस् छाड्नेवाला छैनौं’, उनले भने, ‘होटलका सञ्चालकको समेत सहभागिता देखिएको खण्डमा छाडिने छैन ।’
होटल संचालक श्रेष्ठले भने होटल चलाउने जिम्मा अरुलाइ नै दिएको हुँदा यसमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् ।