इटहरीः मंसिर २७ गते हुन गइरहेको पिण्डेश्वर विद्यापीठ धरानको ६७ औं वार्षिकोत्सवको अवसरमा विद्यापीठले विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरेको छ । विद्यापीठको वार्षिकोत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्न विद्यापीठ परिषद्को बैठकले विद्यापीठका प्राचार्य प्रा.डा. चन्द्रमणि नेपालको संयोजकत्वमा साहित्य, खेलकुद आदि विधासँग सम्बन्धित विभिन्न उपसमितिहरू गठन गरेको थियो ।

वार्षिकोत्सवका अवसरमा विद्यापीठका विद्यार्थीहरूको शारीरिक, बौद्धिक एवं रचनात्मक क्षमताको विकास गर्ने उद्देश्यले विद्यापीठले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यापीठको साहित्यिक उपसमितिले नेपाली आशुभाषण र संस्कृत श्लोकान्ताक्षरी कार्यक्रम सम्पन्न गरेको छ । धर्म, संस्कृति, प्रकृति, समाज, राजनीति, साहित्य, शिक्षा आदि विविध विषयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमा विद्यार्थीहरूले तत्काल नै आशुभाषणमार्फत आआफ्नो धारणा अभिव्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नरेन्द्र ढुङ्गेल, प्रवेश पौडेल, अनुप ढुङ्गेल र पूजन कोइरालाले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । उक्त कार्यक्रमको निर्णायकमा प्रा. तोयराज कोइराला, डा. रमेश लिम्बू, र डा.नित्यानन्द खतिवडा रहेका थिए ।

आशुभाषणपछि सम्पन्न श्लोकान्ताक्षरी कार्यक्रम चार घण्टासम्म चलेको थियो । यस कार्यक्रममा आठ समूहमा रहेका विद्यार्थीहरूले साहित्य, ज्योतिष, इतिहासपुराण, धर्मशास्त्र, नीतिशास्त्र एवम् भगवद्स्तुतिसँग सम्बन्धित अनुष्टुप् छन्दबाहेकका श्लोकहरू सुनाएका थिए ।

उनीहरूले सुनाएका श्लोकहरूको शुद्धता र आधिकारिकताको निर्णय प्रा.डा.भरतप्रसाद भट्टराई, प्रा.डा.भीमप्रसाद खतिवडा, सहप्रा. देवीप्रसाद वाशिष्ठ, सहप्रा. रमेश घिमिरे, उपप्रा. सुमन खतिवडा, डा.पुष्पलाल न्यौपाने, उपप्रा. भवानीप्रसाद मिश्र, र उपप्रा.तुलसी पौडेलले गरेका थिए । श्लोकान्ताक्षरी कार्यक्रममा किरण लुइँटेल, रामचन्द्र ढकाल र नेत्र रिजालको समूह प्रथम भएको थियो । त्यस्तै सुधाकर पोख्रेल, केशव काफ्ले र यदुनाथ भण्डारीको समूहले द्वितीय स्थान प्राप्त गरेको थियो भने प्रवेश पौडेल, सागर पौडेल र पुकार पोख्रेलको समूहले तृतीय स्थान प्राप्त गरेको थियो ।

यी विभिन्न कार्यक्रमहरुमा विद्यापीठका उत्तरमध्यमा, शास्त्री र आचार्य तहमा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता विद्यार्थीहरुलाई २७ गते हुने वार्षिकोत्सव कार्यक्रमको समापन समारोहमा पुरस्कार वितरण गरिने कुरा विद्यापीठ प्रशासनले जनाएको छ ।

उक्त दुवै कार्यक्रमको सभापतित्व सहप्रा. सागरमणि सुवेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन डा. महानन्द तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा डा.खेमराज खनाल, डा.दिवाकर रेग्मी, डा. घनश्याम दाहाल आदिको उपस्थिति रहेको थियो ।

विद्यापीठले संस्कृत, अङ्ग्रेजी र नेपाली भाषामा कथा, निबन्ध आदि लेखन प्रतियोगितासमेत गराउँदै आएको छ । वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रमहरु पनि भइरहेको कुरा खेलकुद उपसमितिका संयोजक कृष्णगोपाल अधिकारीले जानकारी दिए ।

मङ्सिर २७ गते हुने वार्षिकोत्सव कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला प्रमुख अतिथि हुने कुरा विद्यापीठका प्राचार्य प्रा.डा.चन्द्रमणि नेपालले जानकारी दिए ।