भोजपुरः भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवामा ३ सय ५० जनाले नागरिकता लिएका छन् ।

भोजपुर सदरमुकामबाट २ दिन पैदल टाढा पर्ने यस क्षेत्रका बासिन्दा आफ्नै आँगनमा नागरिकता पाएपछि हर्षित भएका छन् । राज्यबाट प्रदान गरिने सेवा सुविधालाई जनताको घरदैलोमा पु¥याउने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालय, भोजपुरले पछिल्लो समयमा नागरिकता वितरण लगायतका अन्य सरकारी सेवालाई जिल्लाका ग्रामीण भेगमा सञ्चालन गर्ने कामलाई तीव्रता दिएको छ ।

‘तपार्इंको घर घरमा नागरिकता’ नाराका साथ सञ्चालन गरिएको घुम्ती सेवामा दोभाने, खाटम्मा, चौकीडाँडा, कुलुङ, नेपालेडाँडा लगायतका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । सदरमुकामसम्म धाएर आउन नसकेर नागरिकता लिन नसकिरहेका तथा भर्खर नागरिकता बनाउन उमेर पुगेकालाई घुम्ती सेवाले राहत मिलेको साल्पासिलिछो गाउँपालिका कुलुङका लीला घलेले बताए ।

नागरिकता टोलीमा साल्पासिलिछो गाउँपालिकाका प्रमुख महेश राई, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, भोजपुरका प्रहरी प्रमुख डीएसपी केशवकुमार थेबे, सशस्त्र प्रहरी नायब उपरीक्षक किसन कर्मचार्य, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, र शिक्षा विकास तथा समन्वय एकाई प्रमुख मानबहादुर देवकोटाको सहभागिता रहेको थियो ।