धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा सोमबार प्राध्यापक सङ्घ एकाइ समितिको निर्वाचन सम्पन्न भएको छ ।

एकल सङ्क्रमणीय निर्वाचन प्रणालीअनुसार भएको निर्वाचनबाट ९ सदस्यीय कार्यसमिति चयन भएको छ । सो निर्वाचनबाट कमलप्रसाद दाहाल, राजेश विद्रोही, ईश्वर ताम्राकार, राधिका डाँगी, दीपेन्द्र कार्की, कृष्णकुमार राई, बालजीत राई, मोहनप्रसाद उपाध्याय र सीता खतिवडा निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरूमध्ये नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको संयुक्त प्यानलबाट पाँंच तथा प्रजातन्त्रवादी प्राध्यापक सङ्घबाट ४ जना छन् । निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिका अध्यक्ष हरिप्रसाद दाहालले बताए ।

निर्वाचित सदस्यहरूको बैठकले कार्यविभाजन गर्ने वैधानिक व्यवस्था छ । बुधबार बस्ने बैठकले कार्यविभाजन गर्ने निर्वाचित सदस्य कमलप्रसाद दाहालले बताए ।

निर्वाचित समितिले क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूको हकहितका पक्षमा काम गर्ने विश्वास रहेको प्रगतिशील प्राध्यापक सङ्गठनका एकाइ सभापति दामोदर भण्डारीले बताए ।