झापा/ मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले आफ्नो ९ महिने कार्यकालमा निकै उल्लेखनीय काम गरेको दाबी गरेका छन् ।
मालवाहक सवारी साधनलाई व्यवस्थित गर्न गाडी प्रवेश गरेसँगै प्रविधिले गाडीको दर्ता गर्ने र ‘इन्ट्री टु एक्जिट’लाई व्यवस्थित गर्नेलगायत अन्य भन्सार सुधारका निकै महत्वपूर्ण काम गरेको स्थानीय सञ्चारकर्मीसँगको भेटमा आइतबार उनले बताए । यो अत्याधुनिक प्रविधि भित्र्याएपछि मालवाहक सवारी साधनले कुनै प्रकारको बदमासी गर्न नपाउने अर्यालको भनाइ छ ।
विभिन्न सुरक्षा निकायले पक्राउ गरी आवश्यक कारवाहीका लागि भन्सारमा बुझाएका सवारी साधनलाई व्यवस्थित गर्न तारबारसहितको सेडरको व्यवस्था गरिएको पनि उनले बताए । याडको स्तरोन्नति तथा विस्तारसँगै नियमित सरसफाई, नकलबन्दा, बाहुनडाँगी तथा सतिघट्टा छोटी भन्सारलाई व्यवस्थित गर्नेदेखि आफ्नै पहलमा सतिघट्टा छोटी भन्सारका लागि ४ कठ्ठा जग्गा प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।
चेकजाँचलाई चुस्त दुरुस्त बनाउन र सेवाग्राहीको कामलाई छिटो छरितो र पारदर्शी ढंगले सम्पन्न गर्न एकीकृत चेकजाँच प्रणाली शुरु गरिएको छ । ‘शुरुमा १ मिटरकै दुरीमा नेपाल, सशस्त्र प्रहरी र भन्सार कर्मचारीले अलग अलग चेकजाँच गर्ने परिपाटी थियो । जसका कारण सर्वसाधारणले अनावश्यक सास्ती बेहोर्नुपरेको थियो’, प्रमुख अर्यालले भने, ‘अहिले सबै सुरक्षा निकायका अधिकारीले एउटै ठाउँबाट चेकजाँच गर्ने व्यवस्था गरेका छौँ ।’
प्रज्वलनशील पदार्थ डिजल, पेट्रोल ग्यास बोकेका मालवाहक सवारी साधनको पार्किङको उचित व्यवस्था तथा साना हलुका सवारी साधन जीप, कार पिकअप रिक्साको पार्किङको सही व्यवस्थापन र मेची भन्सारमा आउने सेवाग्राहीका लागि अलगै कक्ष र टोल फ्रि नम्बरको व्यवस्था गरिएको प्रमुख अर्यालले जानकारी दिए ।
मेचीमै पहिलो पटक भित्र्याइएको लगेज एक्स—रे स्क्यानिङ र वाक थुमेटरडिरेक्सन मेसिन प्रयोगविहीन अवस्थामा रहे पनि यसलाई आफ्नै कार्यकालमा सञ्चालनमा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । ‘९ महिना अघि भन्सार सुधार आधुनिकीकरण अन्तर्गत एशियाली विकास बैंकको अनुदानमा मेची भन्सार कार्यालयमा भित्र्याइएको उक्त प्रविधि प्रयोगविहीन थियो’, प्रमुख अर्यालले भने, ‘मानिसको जहाँ बाक्लो आवतजावत हुन्छ त्यहीँ राख्नुपर्ने भए पनि यात्रु शाखाभित्र राखेका कारण यो प्रविधि प्रयोगविहीन बनेको थियो । अहिले एकीकृत चेकजाँच स्थल मुख्य नाकामा सारेर प्रविधि शुरु गरिएको छ यसलाई कार्यालयले ठूलो उपलब्धिका रुपमा लिएको छ ।’
बंगलादेश भारत तथा भुटानबीच हुने व्यापार सुधारका लागि ती देशका उद्योग व्यवसायीसँगको सम्बन्धलाई मजबुत पारेको उनले बताए । कार्यालयका सबै काम कम्प्युटरबाट सञ्चालन भइरहेको बताउँदै उनले भने, ‘कार्यालयलाई समयअनुकूल बनाउँदै लगिएको छ ।’ आर्थिक वर्ष २०७४÷२०७५ को शुरुवाती ६ महिनासम्म कार्यालयले कुनै पनि महिना लक्ष्यको तुलनामा प्रगति गर्न नसकेको बताउँदै अर्यालले भने, ‘आर्थिक वर्ष २०७४/२०७५ समाप्त हुन १ साता बाँकी रहँदा मेची भन्सार कार्यालय काँकरभिट्टाले लक्ष्यभन्दा ५ प्रतिशत बढी राजस्व असुली गरेको छ ।
व्यापार सहजीकरण, भन्सार कार्यालयले आन्तरिक रूपमा गरेको सुधार, राजस्व चुहावट रोक्न मन्त्रीको निर्देशन, भन्सार चेकजाँचमा कडाइ गरेकै कारण पुसयता हरेक महिना लक्ष्यको तुलनामा प्रगति वृद्धि भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । दैनिक ३ करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन हुने गरेको उनको भनाइ छ । पूर्वी नाकाबाट हुने व्यापारलाई सहजीकरण गर्दै छिटो छरितो रूपमा सेवा प्रवाह गरेको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । अर्यालले मेची भन्सार कार्यालय देशभरकै उत्कृष्ट भन्सार कार्यालयका रूपमा घोषणा हुने प्रशस्त आधार रहेको भन्दै सोही लक्ष्यका साथ आफ्नो टिमले काम गरिरहेको उनले बताए ।