उर्लाबारीः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान रतुवामाई नगरपालिकामा सम्पन्न भएको छ । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गर्दै नगरपालिकाले अभियान सम्पन्न गरेको हो ।

अभियानको अन्तिम दिन सोमबार आयोजित कार्यक्रमका सहभागीहरूलेको र्यालीले रतुवामाई नगरपालिकाको सिँजुवा बजार परिक्रमा गरेको थियो । र्याली पश्चात विश्वनाथ मन्दिरको सभाहलमा लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रविन राईले मुलुकमा विभिन्न राजनैतिक परिवर्तन भए तापनि मानिसको चेतना र व्यहारमा वास्तविक परिवर्तन आइनसकेकाले यस्ता लैङ्गिक हिंसा समाजमा भइरहेको बताए । नगरपालिकाले नगरवासीको चेतना परिवर्तन गरेर समाजमा हुने हिंसा न्यूनीकरणमा कार्यक्रम सञ्चालन गर्ने बताए ।

सो कार्यक्रममा नगर उप–प्रमुख दयन्तादेवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरे, इलाका प्रहरी कार्यालय सिँजुवाका प्रमुख मानप्रसाद श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक यज्ञ भट्टराई, महिला जनप्रतिनिधिहरूलगायतले आफ्ना भनाइ राखेका थिए ।