बिर्तामोडः प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रूपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताएका छन् ।
नेपाल बार एशोसिएसनले आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । न्यायपालिकाको स्वतन्त्रता र निर्भिकताका लागि नेपाल बार एशोसिएसनको भूमिका प्रभावकारी हुनुपर्नेमा उनको जोड थियो ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले न्यायलयलाई अझै जिम्मेवार र जवाफदेही बनाउन सकिए मात्रै जनताले न्यायको अनुभूति गर्न सक्ने बताए । बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश र कानुन व्यवसायी सच्चिए ७५ प्रतिशत भ्रष्टाचार कम हुने बताए ।
एशोसिएसन झापाको संयोजनमा भएको सम्मेलनमा देशभरका १ हजार कानुन व्यवसायी सहभागी थिए । सम्मेलनले ७ बुँदे झापा घोषणापत्र जारी गरेको एशोसिएसन झापाका अध्यक्ष सुरज खत्रीले बताए ।