इटहरीः सुनसरीबाट लागुऔषध ब्राउनसुगरको कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहनगरपालिका ४ बस्ने २७ वर्षीया सृजना ओझा, सोही स्थानका २८ वर्षीय सुशान्त घिमिरे, धनकुटा शहीदभूमि गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ वर्षीय विर्तसिंह राई र उनकी श्रीमती ३५ वर्षीया पवित्रा राई रहेको प्रहरीले जनाएको छ ।
गत २० गते साँझ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउनसुगर १ ग्राम १५० मिलिग्राम र ७ हजार नगदसहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुबाट ब्राउनसुगर बिर्तसिंह राई र उनकी श्रीमती पबित्रा राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुलेसँगै प्रहरी टोलीले बिर्तसिंह राईलाई इटहरी उपमहानगरपालिका ५ मा फेला पारी शरीर तलासी लिँदा ब्राउनसुगर ६ ग्राम ७६० मिलग्राम फेला परेको हो । थप ब्राउनसुगर ३३ ग्राम ९० मिलिग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवाभित्र लुकाई राखेको अवस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगदसमेत बरामद भएको थियो ।
लागुऔषध कारोबारमा संलग्न रहेका चारै जनाउपर लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालतको आदेशमा इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी अनुसन्धान जारी अगाडि बढाइएको प्रहरीले जनाएको छ ।