इटहरीः चित्तलको शिकार गरेको आरोपमा आठ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।

सुनसरीको श्रीलंका टापुस्थित भागलपुरबाट आठ जनालाई पक्राउ गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ । उनीहरूलाई सेनाले बुधबार पक्राउ गरेको हो । कोसीटप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्नेक्रममा श्रीलंका टापुस्थित भागलपुरबाट एक जनालाई चित्तलको मासुसहित पक्राउ गरेको थियो ।

उनीमाथि सोधपुछ गरी थप सात जनालाई पक्राउ गरिएको हो । उनीहरूबाट ६३ किलो जंगली जनावरको मासु, दुई वटा भरूवा बन्दुक नाल, एक प्याकेट टिका बारूद प्याकेट, एउटा खुँडा, चार वटा खुकुरी पनि बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाएको जंगी अड्डाले जनाएको छ ।