इटहरीः झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो २ः१५ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउदै गरेका भारतकै पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला थाना खुरीबारी भेलकोजोत बस्ने ४२ वर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपानेबाट सोही स्थान बस्ने ३६ वर्षीय बद्री राजवंशीलाई ब्राउनसुगर ३ ग्रामसहित पक्राउ गरेको छ ।

यसैगरी, बुधबार राति ८ः०० बजे झापाकै दमक नगरपालिका ९ इटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगर २५ ग्राम र नगद १० हजारसहित पक्राउ गरेको हो ।

यसरी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका चारै जनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।