इटहरीः मोरङको विराटनगर महानगरपालिका ११, नयाँ गुद्रीस्थित लोटस गीत गजलका मेनेजर सोनुकुमार साह छुरा प्रहारमा परी घाइते भएका छन् ।

उनी कार्यरत रहेको सोही होटलमा खाजा खान आएका भारतीय ग्राहकले पैसा तिर्ने विषयमा विवाद हुँदा उनीमाथि छुरा प्रहार गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गएराति ११ः०० बजे उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार गर्नेमा भारतीय नागरिक विक्की पोद्दार रहेको जनाउँदै कार्यालयले घटनालगत्तै अभियुक्त पोद्दारलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ ।

होटल सञ्चालक विन्देश्वर यादवको उजुरीका आधारमा अभियुक्त पोद्दारविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान अगाडि बढाइएको छ । घटनामा घाइते भएका प्रबन्धक साहलाई उपचारार्थ विराटनगरकै विराटनगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।