इनरुवाः घरनक्सा फाँटमा काम गर्ने इञ्जिनियरलाई सेवाग्राही राजीव मेहताले पिटेछन् । म बाहिर थिएँ । नगरपालिकामा गडबड भएको सुनेपछि तुरुन्त आएँ ।
एकछिन नगरपालिकाको काम प्रभावित बने पनि अहिले म कार्यकक्षमै छु । इन्जिनियर इन्द्रनन्द साहमाथि हातपात गर्ने व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।
विवादको विषय घरनक्सा पास गर्नेबारे नै हो । केही समय अघि नगरपालिकालाई एउटा पत्राचार भएको छ । माथिल्लो निकायले पठाएको पत्रमा उल्लेख गरिएअनुसार पूर्व पश्चिम राजमार्गको बीच भागबाट १ सय ५ फिटभित्र घरनक्सा पास नगर्ने भन्ने छ । सोही अनुसार काम नगर्दा मेरो नक्सापास किन रोकेको भन्दै हातपात भएछ ।
हातपात गर्ने व्यक्ति तत्कालीन जिल्ला विकास समितिका पूर्व जिल्ला सभापति अरविन्द्रप्रसाद मेहताका छोरा हुन् । कर्मचारीको कुरा नसुनी एक्कासी नक्सा किन रोकेको भन्दै पिटेछन् । पिट्ने र पिटाइ खाने अहिले प्रहरी कार्यालयतिरछन् । यो विषयलाई म बसेर मिलाउँछु ।
अहिले नगरपालिकाको काम सुचारु छ । कर्मचारीलाई नियम र कानुनभन्दा बाहिर गएर काम नगर्नू भनेको छु ।
(मेयर मेहतासँग गरिएको कुराकानीमा आधारित)