काठमाडौँः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले काठमाडौंमा म्यानपावरमा छापा मार्दा ८७ थाप पासपोर्ट जफत गरेको छ ।
सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा विभागको टोलीले छापा मार्दा अर्कै म्यानपावरका कागजात र ८७ थान पासपोर्ट जफत गरिएका हुन् । छापा मारिएको म्यानपावरमा अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले ८७ थाप पासपोर्ट जफत गरेको हो ।
उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएको अधिकृत अर्यालले बताए । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले जानकारी दिए । उनका अनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ ।
ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशनबिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए ।
विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरु मलेसिया जाने तर्खरमा थिए ।
त्यसरी मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनिहरुले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए । त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन् । यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानूनबमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए ।
त्यसैगरी, विभागले हिजो मात्र कतार पठाउन २५ लाखसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा हानेर कागजातहरु नियन्त्रण लिएको छ । उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुवै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने बताइएको छ ।