इटहरीः धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ माइती भई इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा विवाह गरी आएकी मनिला बुढाथोकीको असामान्य मृत्यु भएको भन्दै माइती पक्षले न्यायको माग गरेका छन् । 

इलाका प्रहरी कार्यलय इटहरीमा छानबिनको माग गर्दै माइती पक्षले उजुरी दिएपछि घटनालाई शङ्काको घेरामा राखिएको छ । मनिलाका दाजु नवराज थापाका अनुसार एक छोरीकी आमा भइसकेकी मनिलाले केही दिनअघि मात्र आफ्नो पेटमा भएको बच्चाको गर्भपतन गराएकी थिइन् । गर्भपतन इटहरीकै परिवार नियोजनमा गराइएको प्रारम्भिक जानकारी आएको र अत्यधिक पेट दुखेर रक्तश्राव भएपछि सफा गर्न भनेर ब’ढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्गमा लगिएकोमा हस्पिटलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले प्रदेश पोर्टललाई बताए । 

मनिलाले यही साउन २३ गते इटहरीको परिवार नियोजनमा गर्भपतन गराएको र समस्या आएपछि साउन २६ गते विराट टिचिङ्ग हस्पिटल लगिएकोमा सोही दिन राति १०ः०० बजे उनको मृत्यु भएको बताइएको छ । ‘हामीलाई समयमा नै जानकारी भएन घटना भइसकेपछि अस्ति बिहान १ः०० बजे आउँदा बहिनीको मृत्यु भइसकेको रहेछ ।’मनिलाका दाजु नवराजले प्रदेश पोर्टललाई सुनाए । डाक्टरसँग आफूले लिएको जानकारी अनुसार मनिलालाई जण्डिस भएको, फोक्सो सुनिएको, पिसाब रोकिएको भएपनि पिसाब थैलीमा पिसाब भने नभएको पाइएको नवराज सुनाउँछन् । आफूले शवको प्रकृति हेर्दा मृत्यु नभई हत्याजस्तो देखिएको भन्दै नवराजले निष्पक्ष छानबिनको माग गरेका छन् । 

मनिलाले गर्भपतन गराएको सम्बन्धमा सासुलाई जानकारी भएता पनि श्रीमानलाई भने जानकारी नै नभएको अर्थात् सल्लाह नगरी गर्भपतन गराएको प्रारम्भिक जानकारी आफूलाई प्राप्त भएको इप्रका इटहरीका डीएसपी खड्काले प्रदेश पोर्टललाई बताए । 

मनिलाको माइती पक्ष उजुरी गर्न भनेर हिजो अर्थात् शुक्रबार आएको भएपनि आज जाहेरी दिन भनेको डीएसपी खड्काले बताए । मृतकको शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको र पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाको विषयमा सत्यतथ्य बाहिर आउने इलाका प्रहरी कार्यालय इटहरीको भनाइ छ । यता माइती पक्षले भने गर्भपतन कुन डाक्टरले गराएको हो त्यो डाक्टरलाई समेत अनुसन्धानको घेरामा राखेर मात्रै पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइनुपर्ने माग राखेको छ ।