इटहरीः संघीय सरकारको गृह मन्त्रालयले मिटरब्याजबाट पीडितहरुलाई आगामी भदौ ५ गतेसम्म पीडकविरुद्ध उजुरी दिन अपिल गरेको छ ।

मिटरब्याज पीडितहरुको समस्या सम्बोधनका लागि गृहमन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलले काम सुरु गरेसँगै मिटरब्याज माफियाहरुमाथि कारबाहीको प्रकृया अगाडि बढेको हो । मन्त्रालयले डा.भिष्मकुमार भुसालको संयोजकत्वमा बनाएको कार्यदलले नवलपरासीका मिटरब्याज पीडितहरुसँग उनीहरुले आन्दोलन गरिरहेको माइतीघर मण्डलामा नै पुगेर छलफल गरेको थियो । छलफलपछि नवलपरासी पश्चिममा मात्र नभई देशका अन्य जिल्लामा पनि मिटरब्याजबाट पीडितहरु हुनसक्ने भन्दै मन्त्रालयले उजुरी आह्वान गरेको हो ।

299061892_578482887204364_1138044263581802774_n

पीडित व्यक्तिले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध उजुरी दिनुपर्नेछ ।

‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ–आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयद्वारा जारी सार्वजनिक सूचनमा भनिएको छ ।