इटहरीः मोरङको विराटनगर महानगरपालिका १० स्थित कोसी कोभिड अस्पतालमा कोरोना संक्रमणको उपचारका लागि भर्ना भई फरार भएका बन्दीलाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १८ घर भई लेनदेन मुद्दामा पक्राउ परेका ४५ वर्षीय लक्ष्मण दास रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ जिल्ला अदालतबाट लेनदेन मुद्दामा दोषी ठहर भई २०७६ साल वैशाख २९ गते ६ महिना कैद सजाय पाएका दास सजायको फैसलापछि फरार रहेकोमा साउन २० गते प्रहरीद्वारा पक्राउ परेका थिए ।

पक्राउ परेपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि कारागार चलान नगरी उनलाई उपचारार्थ कोभिड अस्पताल भर्ना गरिएको थियो । शौचालय जाने बहानामा दास बुधबार राति १० बजेतिर दास फरार बनेका थिए । फरार रहेका दासलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

विराटनगर १४, कटुप्पाबाट प्रहरीले उनलाई शुक्रबार दिउँसो १ः१५ बजे पक्राउ गरेको थियो । अब उनलाई बाँकी कैद भुक्तानीका लागि अदालतको आदेश लिई कारागार पठाइने प्रहरीले जनाएको छ ।