वीरेन्द्रनगरः मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ ।
विश्वविद्यालयविरूद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो । विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ ।
विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ थियो । -रासस