इटहरीः तिहारको बिदा लिएर काठमाडौ हिँडेका इटहरीका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल इटहरी उपमहानगरपालिकामा फर्किएनन् । तिहार मनाउन काठमाडौं पुगेका रिजाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिबी निवारण कोषमा सरुवा गरिदियो ।

इटहरीको प्रमुख प्रशासकीय भूमिकामा आएका नेपाल सरकारका सहसचिव छवि रिजाल ६ महिना नबित्दै सरुवा भएका थिए । जेठमा मात्र आएका रिजाल गरिबी निवारण कोषको प्रमुख कार्यकारीको रूपमा सरुवा भएका हुन् । रिजाल कार्यालयमा उपस्थित नभएको १ महिना भन्दा बढी समय भइसके पनि हालसम्म इटहरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् ।

प्रमुख प्रशसकीय अधिकृत नहुँदा अहिले नगरपालिकामा धेरै भुक्तानी रोकिएका छन् । गत आर्थिक वर्षमा नै बजेट छुट्टिएका योजनाको काम सकिए पनि प्रमुख प्रशासक नहँुदा भुक्तानी नै हुन सकेको छैन ।
इटहरीमा गत आर्थिक वर्षमा नै बजेट छुट्याएर म्याद थप गरेका १७ वटा बाटोका काममध्ये प्रायःको काम सकिएको छ ।

‘हामीले असारमा बाटो पिच गर्दा अर्थहीन हुन्छ भनेर काम स्थगित गर्न लगाएर बर्खा सकिएपछि काम गराएका थियौँ । अहिले काम सकिए पनि ठेकेदारले भुक्तानी नै पाएका छैनन्’, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम भन्छिन्, ‘नयाँ प्रमुख प्रशसकीय अधिकृत अलि ढिला गरि मात्र मन्त्रालयले पठायो तर अहिलेसम्म पनि हाजिर हुन आउन सक्नुभएको छैन ।’

यस अघि प्रमुख प्रशासकीय अधिकृत भएर इटहरीमा सहसचिव तहका कर्मचारी आए पनि अब भने उपसचिवलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन लागेको उपमहानगरपालिकाका एक कर्मचारीले बताए । ‘सह सचिवहरूलाई तल (स्थनीय तहमा) पठाउन पनि गाह्रो छ त्यही भएर अहिले उपसचिवलाई पठाएको होला ।’

योजना कार्यान्वयनको समयमा हुने सरुवाले बजेट प्रभावित
मंसिर महिना योजना सञ्चालन गर्ने चटारोको महिना हो । योजनाको कामले भीडभाड हुनुपर्ने उपमहानगर कार्यालयमा अहिले सामान्य प्रशासनिक काम गर्ने माछेको मात्र उपस्थिति हुन्छ । पहिलो चौमासिकमा दशैँ, तिहार बर्खा भन्दै काम नगर्ने प्रवृत्ति रहेकाले दोस्रो चौमासिकको पहिलो महिनालाई भने योजना कार्यान्वयन शुरु गर्ने महिना मानिछ ।
तर अहिले उपमहानगरमा योजनाको काम शून्य जस्तै छ । योजना कार्यान्वयनको काम प्रमुख प्रशासकीय अधिकृतको हो तर एक महिनासम्म पनि योजनाका काम नभएपछि अहिले बजेट नै धरमरको अवस्थामा रहेको देखिन्छ ।

पहिलो चौमासिकमा पनि विकास बजेट ५ प्रतिशत आसपासमा मात्र खर्च गरेको इटहरीले मंसिर महिनामा पनि विकास बजेट खर्च गरेको देखिँदैन । ‘प्रमुख प्रशासक नहुँदा मंसिर महिनामा फाट्टफुट्ट बाहेक खर्च भएको देखिँदैन,’ उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले भने, ‘अहिले उपभोक्ता समिति गठन गर्ने काम चाहिँ भइरहेको छ तर द्रुत गतिमा भने अझै बढ्न सकेको छैन ।’

बारम्बारको सरुवाले तनावमा जनप्रतिनिधि
योजना बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने बेलामा नयाँनयाँ प्रमुख प्रशासकीय अधिकृत आउनाले जनप्रतिनिधिहरूलाई पनि टाउको दुखाइको विषय बन्न थालेको छ । योजना बनाउने बेलामा एउटा, एक तहको बजेट कार्यान्वयन गर्ने बेलामा अर्को, त्यसपछि अर्को चरणमा अर्को प्रमुख प्रशासकीय अधिकृत फेरिँदा काम गर्न गाह्रो भएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए ।

केही समय अगाडि एउटा औपचारिक कार्यक्रममा बोल्दै चौधरीले भने, ‘यो पल्टको योजनाबारे धेरै कुरा उहाँ (छवि रिजाल)लाई थाहा थियो । आउने आर्थिक वर्षसम्म मन्त्रालयले पनि सरुवा नगर्ने तयारी गरेको थियो तर स्थानीय तहलाई अप्ठ्यारो पार्ने गरी मन्त्रालयले सरुवा ग¥यो । चौधरीले भने, ‘योजना सञ्चालनको पिक टाइममा काम गर्न अप्ठ्यारो हुने भयो ।’

नङ र मासुको जस्तो सम्बन्ध रहनुपर्ने प्रमुख प्रशासकीय अधिकृतसँग सम्बन्ध बिस्तार गर्नै नपाई सरुवा हुने गरेकाले विकासमा अप्ठ्यारो परेको स्थानीय सरकार प्रमुख बताउँछन् ।