इटहरीः प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवलाई मोरङको उर्लाबारी नगरपालिकास्थित मङ्गलबारेमा कालो झण्डा देखाइएको छ ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका मन्त्री यादवलाई स्थानीय युवाहरुले कालो झण्डा देखाउँदै उद्घाटनमा अवरोध गरेका हुन् । अस्पतालको भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै युवाहरुले हिसाब सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शनसमेत गरेका थिए । मन्त्री यादवलाई अवरोध गरेको भन्दै प्रहरीले पिपलराज गिरी, महासचिव रेशु कटुवाल, सदस्यहरु शेखर खड्का, प्रदीप दाहाल र प्रतीक पाण्डेलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको थियो ।
मङ्गलबारे युवा क्लबले भवन निर्माणको हिसाब सार्वजनिक गर्न माग गर्दै अस्पताल प्रशासनलाई बुझाएको ज्ञापनपत्रमाथि सुनुवाइ नभएपछि क्लबमा आबद्ध युवाहरुले मन्त्रीलाई नै अवरोध गरेर ध्यानाकर्षण गराएका हुन् । विरोध प्रदर्शनपछि मन्त्री यादवले विवाद देखिएको विषयमा छानबिन अघि बढाउन अस्पताल व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।