फाइल तस्बिर

इटहरीः त्रेता युगमा मर्यादापुरुषोत्तम राम र पतिव्रता सीताको विवाह भएको दिनको सम्झनामा आज देशभरका राम मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्वको अवसरमा आज जनकपुरमा श्रद्धालुको ठूलो भीड लाग्छ । जनकपुरलाई सीताको माइती नगर मानिन्छ । त्यस्तै, देशभरका राममन्दिरमा पनि आज श्रद्धालुको ठूलो भीड लाग्छ ।

सुनसरीको रामधुनी मन्दिरमा पनि आज दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । भगवान् सीता र रामको विवाह महोत्सव गरी भक्तजनले विवाहपञ्चमी मनाउने गर्दछन् ।

विवाह महोत्सव मनाउने क्रममा मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गर्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बजार परिक्रमा गराइन्छ ।