इटहरीः इन्डिोनेसियाबाट आयात गरी नेपालमा उत्पादन गरिएको भन्ने झुठो कागजात तयार गरी भारत निकासी गरेको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको आठ ट्रक सुपारीको मुद्दा उच्च अदालत विराटनगरमा पुगेको छ ।
सुपारीका निर्यातकर्ता विराटनगर–९ स्थित मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले कानूनी प्रकृया पूरा गरेर भारत निकासी गरिसकेको सुपारी प्रहरीले बदनियतपूर्वक नियन्त्रणमा लिएको जिकिर गर्दै उत्प्रेषण प्रतिषेध आदेश जारी गरी निर्यातको अवरोध खुलाउन माग गर्दै उच्च अदालतमा रिट निवेदन दिएका हुन् । साउन ५ गते भारतको भन्सारले जाँचपास गरिसकेको अवस्थामा सुपारी नियन्त्रणमा लिइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजश्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै साउन २६ गते रिट परेको हो ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले भारतीय भन्सारले लगाएको सिलबन्दी यथावत राखी छलफलका लागि उपस्थित हुन मुद्दाका वादी र प्रतिवादी दुवै पक्षलाई आदेश दिएको छ । ‘यसमा अन्तरिक आदेशसमेत माग गरेतर्फ विचार गर्दा, यस सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखेर उचित निष्कर्षमा पुग्न मनासिब हुने देखिएकोले मिति २०७९–०४–३१ ग्ते अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन विपक्षीहरुलाई जानकारी दिई नियमानुसार पेश गर्नु’ न्यायधीश राईको आदेशमा उल्लेख गरिएको छ ।