इटहरीः झापाको काँकडभिट्टा र गौरीगञ्जबाट भन्सार छलेर ल्याइएका चिनी, पाउडर दूध र सुपारी प्रहरीले बरामद गरेको छ ।

मेचीनगर नगरपालिका– ७ मा भारतबाट अवैधरूपमा भन्सार छलेर नेपाल ल्याइएको एक लाख रुपैयाँ मूल्य बराबरको दुई सय केजी पाउडर दूध बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रहरीले मेचीनगर– ६ स्थित काठ मिल छेउबाट नेपालबाट भारततर्फ लैजाँदै गरेको ३० केजी सुपारी पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले  गौरीगञ्ज  गाउँपालिका– ५ स्थित जनता टोल स्थित मान्छे नबस्ने ग्वालीमा ३१ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैधरूपमा भन्सार छलेर लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले १ लाख ११ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद गरिएको चिनी, दूध पाउडर र सुपारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइने प्रहरीले जनाएको छ ।