इटहरीः मोटरसाइकल चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीकै धरान उपमहानगरपालिका १५ का ३७ वर्षीय बन्धन लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त लिम्बूलाई दोषी ठहर गर्दै अदालतले २०७८ असोज १९ गते पाँच महिना पाँच दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्न आदेश दिएको थियो ।
अदालतको फैसला आएलगत्तै फरार भएका लिम्बूलाई प्रहरीले आइतबार उनकै गाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त लिम्बूलाई अदालतमा पेस गरी अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।