इटहरीः नेदरल्यान्ड पठाइदिने बहानामा १६ जनासँग एक करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खोटाङको बाह्रपोखरी गाउँपालिका–५ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार अभिय’क्त राईलाई प्रहरीले हिजो कोटेश्वरबाट पक्राउ गरेको हो । राईमाथि विभिन्न व्यक्तिसँग एक करोड ३६ लाख ५० हजार ठगी गरेको आरोप छ । उनले प्रतिव्यक्ति १६ लाख असुली गरेका थिए ।

राईले नेदरल्यान्डमा मासिक ७५ हजार रुपैयाँ तलब हुने भनेर पीडितहरूलाई विश्वासमा लिएर ठगी गरेका थिए । रकम ठगी गरी अभियुक्त राई फरार भएको भन्दै पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको जिम्मा लगाएको हो ।