इटहरीः सर्लाहीमा स्रोत नखुलेको २६ लाख रुपैयाँ र सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटीको शिखर नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार बरहथवा नगरपालिका–११, हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख र २३३ ग्राम २८० मिलिग्राम तौलबराबरको सुनको सिक्री एकथान र ब्रासलेट एकथानसहित उनीहरू पक्राउ परेका हुन् ।

प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकलमा नयाँरोडबाट हिरापुरतर्फ गइरहेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।