इटहरीः मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरुमा पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु भएको छ ।
सोमबार अपरान्ह ४ः०० बजे ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ वर्षीय छोरा विवेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटी गई घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–२ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारतको सिक्किम घर भई सुनवर्षी नगरपालिका–३ बस्ने ३६ वर्षीय शेरबहादुर राइको मृत्यु भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी टोली खटी गई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।