इटहरीः जबर्जस्ती करणी मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपहानगरपालिका १५ का २८ वर्षीय सुमन परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार उच्च अदालत विराटनगरले परियारलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै २०७२ साल पौष २६ गते १० वर्ष कैद सजाय सुनाएको थियो ।

कैद सजायको फैसला आएलगत्तै फरार भएका परियारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त परियारलाई सुनसरी जिल्ला अदालतमा पेस गरी अदालतकै आदेशअनुसार कैद भुक्तानीका लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।