इटहरीः मोरङको जहदा गाउँपालिका–१ बुधनगरमा एक महिला धानखेतमा मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा जहदा–१ की अन्दाजी ३८÷३९ वर्षीया दुर्गादेवी राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अन’सार स्थानीय शिवराम यादवको खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

बिहान ११ः०० बजे माटो लिन भनेर गएकी राजवंशीको दिउँसो शव भेटिएको हो । घरदेखि लगभग ५ मिनेटजतिको पैदल दूरीमा रहेको धानखेतमा शव भेटिएको एसपी राईले बताए । स्थानीयको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर पठाई घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।