इटहरीः झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँबाट प्रहरीले एक सय २० किलो सुपारी बरामद गरेको छ ।

हिजो साँँझ करिब ७ः०० बजे नेपालबाट भारततिर लग्दै गरेको ८० हजार रूपैयाँ बराबरको सुपारी बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर–६ बाट एक लाख मूल्य बराबरको रजनीगन्धा बरामद गरेको छ ।

भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा ५० बन्डल रजनीगन्धा बरामद गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार बरामद गरिएका रजनीगन्धाको मूल्य करिब १ लाख रुपैयाँ पर्छ । बरामद सुपारी र रजनीगन्धा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।