इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ८ मा हिजो साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हिजो साँझ ५ः१५ बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको प्रदेश १ ०२ ०४८ प ४८३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार दाहाल गम्भीर घाइते भएकोमा उनलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भई प्रतिष्ठानमै उपचाररत रहेको प्रहरीले जनाएको छ ।