इनरुवाः पूर्व–पश्चिम राजमार्ग स्तारोन्नती आयोजना अन्र्तगतको काकडभिट्टा–लौकही सडक खण्डभित्र इनरुवा नगरपालिकाभित्र छ लेनको सडक निर्माण हुने भएको छ । 

सोमबार इनरुवामा आयोजित राजमार्ग स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मुल्यांङ्कन प्रतिवेदनको सार्वजनिक सुनवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । ठाँउअनुसार २४ देखि ३२ मिटरसम्म कालोपत्रे बन्ने सो आयोजनाअन्र्तगत इनरुवा नगरपालिकाको वडा नम्बर ६ को भोटेखोला अन्डरपासदेखि सुनसरी खोलासम्म दुवैतर्फ दुई सर्भिस लेन र मुल सडक चार लेनको गरी छ लेनको बन्नेगरी डिजाइन तयार पारिएको छ । त्यसभन्दा पूर्व वडा नम्बर ६ अन्र्तगत पर्ने राजमार्ग भने चार लेनको २४–२४ मिटरको बन्नेछ । इनरुवा ४ का वडाध्यक्ष बौवालाल मेहताका अनुसार ८२ दशमलव ५ मिटर सडक क्षेत्रभित्र पर्ने घर र टहरा भत्काउँदा आयोजनाले त्यसको मुआब्जा दिनेछ भने जग्गाको मुआब्जा भने दिने छैन । 

आयोजनाको परामर्शदाता कम्पनी सुसुङ्ग इन्जिनियरिङ्ग कोरिया इन एसोसिएसन विथ इन्भाएरोमेन्ट एण्ड रिसोर्स मेनेजमेन्ट कन्सलट्यान्ट प्रा.लि. एण्ड टेक स्टुडियो अफ इन्जिनियरिङ्ग प्रा.लि.ले इनरुवा नगरपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रमको आयोजना गरेको हो । त्यस्तै नगरपालिकाको शहरी क्षेत्र अन्र्तगतको मुख्य राजमार्ग पार गर्नुपर्ने चौकहरु सखुवागाछी, महेन्द्र चौक र बस चौकमा बाटो काट्न सहज हुनेगरी ट्र«ाफिक लाइटको ब्यवस्थापन गरिनेछ । त्यस्तै, सुनसरी खोलामा स्वर्गद्वारी घाट र गढिनाथको मन्दिर जाने ठाँउमा मुख्य राजमार्गबाट सहायक मार्ग निर्माण गरिने छ । 

काकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर लामो सडक निर्माण हुनेमा पहिलो चरणमा काकडभिट्टादेखि पकली क्षेत्रसम्मको सडकको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ । पकलीदेखि लौकही सडकखण्डअन्र्तगत पकलीदेखि कोसीटप्पु वन्यजन्तु आरक्षको गेट अर्थात् नहर चौकसम्मको सडक स्तरोन्नतिको प्रक्रिया भने अबको करिब छ महिनापछि मात्र अगाडि बढ्ने कार्यक्रममा जानकारी दिइएको थियो । सोमबारै राजमार्गअन्र्तगत पर्ने भोक्राहा नरसिंह गाउँपालिकामा समेत सार्वजनिक सुनवाइ गरिएको छ । 

१२० किलोमिटर सडक स्तरोन्नतिको क्रममा  १२ नगरपालिका ४ गाउँपालिका १ उपमहानगरपालिकाको गरी ८२ वटा वडा प्रत्यक्ष रुपमा प्रभावित हुनेछ । जसभित्र १ लाख २७ हजार २०१ घरधुरीका ५ लाख १२ हजार २९७ जनसंख्या प्रभावित हुने छ । त्यसैगरी आयोजना निर्माणको क्रममा काटिने रुखको क्षतिपूर्तिबाट एकको अनुपातमा दशवटा रुख रोपिनेछ । जसमा यो खण्डमा १२ हजार ४४८ वटा रुख काटिने भएकोले त्यसको साटो सडक निर्माणपछि १ लाख २४ हजार ४८० वटा नयाँ रुख रोपिने छ भने आयोजनामा पर्ने धार्मिक संरचना, घाटसम्म पुग्ने सडक पुर्ननिर्माण वा पुनःस्थापना गरिनेछ ।