इलामः दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाका दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्वास्थ्य संस्था नभएका फाकफोकथुम–१ को ठिङ्गेपुर र वडा नं ६ को पोखरी भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरिएको हो ।

सात वडा रहेको सो गाउँपालिकाको अन्य वडामा स्वास्थ्यचौकी रहेकामा यी दुई वडामा स्वास्थ्य संस्था नहुँदा स्थानीयवासी सामान्य उपचारका लागि पनि पञ्चमी, रवि, राँके तथा इलाम धाउनुपर्ने अवस्था रहेको थियो । गाउँ कार्यपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेसँगै कर्मचारीसमेत नियुक्ति गरेको छ ।

सामुदायिक स्वास्थ्य एकाइमा औषधि तथा उपकरण व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ । ठिङ्गेपुर सामुदायिक स्वास्थ्य एकाइलाई हेरचाहका लागि उत्प्रेरणा परियोजना अन्तर्गत करूणा फाउण्डेशनले रु ५० हजार बराबरको उपकरण सहयोग गरेको छ । स्वास्थ्य एकाइ तथा अन्य स्वास्थ्यचौकीका लागि गाउँपालिकाले औषधि खरिद गर्ने स्वास्थ्य संयोजक सञ्जयकुमार साहले बताए ।