इलामः लोपोन्मुख लेप्चा जातिको संस्कृति जोगाउने उद्देश्यले इलामको रोङ गाउँपालिकाले लेप्चा सङ्ग्रहालय र घरबास (होमस्टे) निर्माण गर्ने भएको छ ।

लेप्चा समुदायको बाहुल्यता रहेको रोङ गाउँपालिकामा ५ वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र होमस्टे निर्माण गर्ने गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए । गाउँपालिकाले २० वर्षे योजना निर्माण गर्दै आगामी ५ वर्षभित्रमा सङ्ग्रहालय र होमस्टे निर्माण गर्न लागेको हो ।

रोङ गाउँपालिकाका कोल्बुङ, इरौटार, जिर्मले, शान्तिपुरमा अधिकांश लेप्चा जातिको बसोबास रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर घरबास निर्माण गरिने भएको हो । घरबासमा लेप्चा जातिको परिकार मात्र व्यवस्था गरिने र पर्यटकलाई लेप्चाको खाद्यान्नको बारेमा जानकारी गराउन घरबास निर्माण गर्न लागिएको अध्यक्ष राईको भनाइ छ ।

लेप्चा जातिको भेषभुषा, खाद्यान्न तथा रीतिरिवाजको अभिलेख राख्नका लागि गाउँपालिकाले सङ्ग्रहालयसमेत निर्माण गर्ने भएको हो । पछिल्लो समय लेप्चा जातिका भेषभुषा र रीतिरिवाज हराउँदै गएकाले जातीय पहिचान झल्काउन र अस्तित्व बचाउनका लागि सङ्ग्रहालय निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।