इटहरीः सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मोरङको धनपालथान गाउँपालिका–७ कदमाहमा शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ३८ वर्षीया कान्तिदेवी मण्डल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार सफारी चार्ज गर्ने क्रममा साँझ ६ः३० बजेतिर मण्डललाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले साँझ ७ः४५ बजेतिर मृत घोषित गरेका हुन् ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।