इटहरीः झापाको दमक नगरपालिका ४, चियाबगानमा हिजो साँझ कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पहिचान खुल्न नसकेका अन्दाजी ४० वर्षीय पुरुष रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका अनुसार पैदल हिँडिरहेका पुरुषलाई हिजो साँझ ८ः१५ बजे  बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनलाई उपचारार्थ दमक अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।