इटहरीः सुनसरीको बर्जु गाउँपालिका १ मा हिजो साँझ एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्जु गाउँपालिका ६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका अनुसार को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते भएका थिए ।

उनलाई उपचारार्थ कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् । घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगरस्थित न्युरो अस्पतालमा भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।