धरानः चालु आर्थिक वर्ष २०७९÷८० को संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको बजेट पालिकाबाहिर १४ लाख ५० हजार रुपैयाँ वितरण गरिएको पाइएको छ ।

भोटखोला गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट पालिकास्तरीय योजना,आयोजना शीर्षकमा भोटखोला गाउँपालिकाबाहिर संखुवासभा जिल्लाको खाँदरबारी नगरपालिकामा रहेको खाँदबारी भोटे समाज भवन निर्माणको लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको पाइएको छ । त्यसैगरी खाँदबारी नगरपालिकामै रहेको खाँदबारी महिला आमा समुह व्यवस्थापन कार्यक्रम शीर्षकमा ५ लाख रुपैयाँ छुट्याएको पाइएको छ । त्यसैगरी, खाँदबारी नगरपालिकाकै हिमालयन चर्च व्यवस्थापन कार्यक्रम खाँदबारी शीर्षकमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको पाइएको छ । गाउँपालिकाको बजेट यसरी बाहिर खर्च गर्न छुट्याएको पाइएपछि भोट्खोलावासी किदुक समाज उर्लाबारी मोरङले आपत्ति जनाउदै विज्ञप्ति जारी गरेको छ । 

1661066164227

समाजका अध्यक्ष डुक्चे लामा र सचिव दावाछिरिङ सेक्नेपेदेनले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा ‘भोटखोला गाउँपालिकाको आ.व २०७९÷८० को लागि मिति २०७९÷०३÷१० गते सम्पन्न गाउँसभाबाट विनियोजित बजेट भोटखोला गाउँपालिकाको विकासको लागि गाउँपालिकाभित्र खर्चिनुपर्नेमा भोटखोला गाउँपालिकाभन्दा बाहिर बसाइसराइ गरी बसोबास गरिरहेका समुदायको लागि समेत विनियोजन भएको पाउँदा हाम्रो ध्यानाआकर्षण भई अत्यन्तै दुखका साथ यो विज्ञप्ति निकाल्न विवश भएका छौँ ।’ उल्लेख छ ।

1661066164217

विकासको नाममा भखरै बामे सर्दै गरेको एउटा गाउँपालिकाले विकासले परिपक्व भइसकेको नगरपालिका स्तरमा बसोबास गर्ने जनतालाई सहयोग पुर्याउन खोज्नु अत्यन्तै खेदजनक रहेको समाजले जनाएको छ । यसरी आफ्नो क्षेत्रभित्रको बजेट अन्यत्र विनियोजन गर्दै जाने हो भने भोटखोलाको विकासको लागि विनियोजित बजेटहरु बाहिर जाने बेथिति क्रमश विकृतिको रुपमा मौलाउँदै जानेछ भन्ने कुरालाई मध्यनजर गर्दै जोडदार खबरदारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा सम्बन्धित सबैको ध्यान आकृष्ट गरी अविलम्ब निर्णय सच्याउन पनि माग गरिएको छ ।