काठमाडौँः आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकारबीचमा तीनबुँदे सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीनबुँदे सहमति भएसँगै राजपुतले आमरण अनसन तोडेकी छन् । उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनसन तोडेकी हुन् ।

सहमतिमा राजपुतको मागानुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको छ । -रासस