इटहरीः सर्दू जलाधारको सीमाङ्कन गर्न र रोक्का जग्गा फुकुवा गर्न माग गर्दै दुई साता अघिदेखि आन्दोलित धरान १३ र ४ का स्थानीयले हिजो धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

उपमहानगरपालिकाका साथै उनीहरुले धरान १३ को वडा कार्यालय र मालपोत कार्यालय पनि घेराउ गरेका थिए । जलाधारको नाममा शहरी क्षेत्रका जग्गा रोक्का गरिएपछि जनताले धर्ना दिएको स्थानीय टिका राईले जानकारी दिए । सर्दू जलाधारका नाममा नपरेका जग्गा सिमांकनसहितको फुकुवा गर्न शान्तिपूर्ण आन्दोलन गरेको पीडित सरोज तामाङ बताउँछन् ।

धरान १३ र ४ को निशाने खोलाको खोल्सीदेखि पूर्व शिखरवासदेखि दक्षिण सूर्य मार्गसम्मको बस्ती हालसम्म नउठेको हुनाले त्यहाँका स्थानीयले मुआब्जा नलिएको बताउँदै आएका छन् । जलाधार घोषणा भई राजपत्रमा प्रकाशित गरेपछि साँगुरी र सारंगा आसपासका बस्ती उठाएर मोरङको पथरीशनिश्चरे र बयरवनमा धनीपुर्जासहित सट्टाभर्ना दिइएको थियो । तर यता जलाधार क्षेत्रको जमिनको भने लगतकट्टा नभएकाले समस्या उत्पन्न हुँदै आएको छ ।