इटहरीः चर्को व्याजमा ऋण दिएर बिचल्ली बनाएको भन्दै देशभरबाट १८ सय ३२ उजुरी परेको छ ।

गृह मन्त्रालयले गठन गरेको कार्यदलमा सोमबारसम्म परेको उजुरीमा सबैभन्दा बढी मधेस प्रदेशका छन् । मधेसमा एक हजार ६९ जनाले उजुरी दिएका छन् । यो कुल उजुरीको ५८ प्रतिशत हो । मधेसपछि बाग्मती प्रदेशको ३५८, लुम्बिनीको २११, प्रदेश १ को ९२, सुदूरपश्चिमको ४५, गण्डकीको ३५ र कर्णाली प्रदेशको २२ वटा उजुरी परेका छन् । गत साउन २८ गते संघीय सरकारको गृह मन्त्रालयले मिटरब्याजबाट पीडितहरुलाई आगामी भदौ ५ गतेसम्म पीडकविरुद्ध उजुरी दिन अपिल गरेको थियो ।

मिटर ब्याज पीडितहरुको समस्या सम्बोधनका लागि गृहमन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलले काम सुरु गरेसँगै मिटरब्याज माफियाहरुमाथि कारबाहीको प्रकृया अगाडि बढेको हो । मन्त्रालयले डा.भिष्मकुमार भुसालको संयोजकत्वमा बनाएको कार्यदलले नवलपरासीका मिटरब्याज पीडितहरुसँग उनीहरुले आन्दोलन गरिरहेको माइतीघर मण्डलामा नै पुगेर छलफल गरेको थियो । छलफलपछि नवलपरासी पश्चिममा मात्र नभई देशका अन्य जिल्लामा पनि मिटरब्याजबाट पीडितहरु हुनसक्ने भन्दै मन्त्रालयले उजुरी आह्वान गरेको थियो । सोही सूचनालाई आधार मानी देशभरबाट उजुरी परेपछि आज अपराहन्न ४ः०० बजे कार्यदलको बैठक बस्न लागेको छ । अन्य केही जिल्लाबाट उजुरी आउन बाँकी रहेको छ । ती जिल्लाबाट आउनुपर्ने उजुरी आइसकेपछि उजुरीउपर कारबाही चल्ने गृह मन्त्रालयले जनाएको छ ।

299061892-578482887204364-1138044263581802774-n (1)