इटहरीः सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई–सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने धन्दामा संलग्नलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन् । लुकिछिपी बसेको अवस्थामा झापाको भद्रपुरबाट गत बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी राईले बताए ।

उनका अनुसार पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उप महानगरपालिका–२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो । आफ्नो फेसबुक ‘ह्याक’ भएको भनेर राउतले सुनसरी प्रहरीमा गत जेठ १२ गते निवेदन दिएका थिए । ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिएका थिए ।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार गिरोहले नयाँ ‘सफ्टवेयर’ बनाउँदै ‘ब्युटी कन्टेस्ट’मा भोट दिनुहोस् भनेर विभिन्न व्यक्तिलाई झुक्याउँदै म्यासेज पठाएर उनीहरुका फेसबुक ‘ह्याक’ गर्ने र पासवर्ड चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पासवर्ड चोरी गरिसकेपछि म्यासेन्जरमार्फत नजिकका साथीहरुलाई आफू बिरामी परेकाले उपचारका लागि रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएर ठगी गर्ने गरेको उनको भनाइ छ । पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’का विद्यार्थीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ ।