इटहरीः विराटनगरको विराट हेल्थ कलेजमा अध्ययन गर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

थुनछेक बहसपछि न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले दुवैलाई कारागार चलान गर्न आदेश दिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकविरुद्ध आज बिहीबार मुद्दा दर्ता भएको थियो । सरकारी वकिल कार्यालय मोरङले मुलकी अपराध संहिता २०७४ को दफा २१९ सामूहिक जबरजस्ती करणाी मुद्दामा ७ देखि १० वर्षसम्म कैद सजाय र सामुहिक जबरजस्ती करणी गरेकोमा थप ५ वर्ष कैद र ३ लाख रुपैयाँसहित पीडितलाई उचित क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गरेको मोरङ अदालतले जनाएको छ । 

कराँते प्रशिक्षकद्वय बलात्कार आरोपमा गत साउन ८ गते पक्राउ परेका थिए । उनीहरुले  सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया छात्रालाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ । पक्राउ परेका सुरज सुवेदी छात्रा अध्ययनरत कलेज विराट हेल्थ कलेजका अनुशासन इन्चार्जसमेत रहेको बताइएको छ । प्रहरीमा छात्राले दिएको किटानी जाहेरीमा गत जेठ अन्तिम साता भने राउत र सुवेदीले विराटनगरको एउटा होटलमा सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

भिडियो बनाएर ‘बार्गेनिङ’समेत गरिएको निवेदकको दाबी छ । तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ । प्रहरीको अनुसन्धानले दुवै जनाले सामूहिक बलात्कार भने गरेको निष्कर्ष निकालेको छ । सामूहिक बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले राउत र सुवेदीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन वकिल कार्यालयमा बुझाएको थियो । सोही आधारमा सरकारी वकिलको कार्यलयले मुद्दा दायर गरेको हो ।