खोटाङः खोटाङको वराह पोखरी हेर्न र पूजाआजा गर्नका लागि पर्यटकको भीड लाग्न थालेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोश दक्षिणमा पर्ने ‘वराहपोखरी’ लाई सौन्दर्यकी रानीको रूपमा लिइन्छ । ३ सय ३० मिटर लम्बाइ र २ सय १० मिटर चौडाइ रहेको यो पोखरीमा हरेक वर्षको हरिबोधिनी एकादशीका दिन ठूलो मेला लाग्छ । परापूर्वकालमा एउटा घरको अँगेनाबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहा“बाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर ताल बनेकाले यसलाई वराहपोखरी भनिएको हो भन्ने किंवदन्ती पाइन्छ ।

वराहपोखरी पुग्ने बाटो
वराहपोखरी पुग्न सदरमुकाम दिक्तेलबाट २ दिन पैदल हिँड्नुपर्छ । दिक्तेल बजारबाट टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रायणीपोखरी, खोटाङबजार हुँदै सावाखोलापारी वराहपोखरी पुगिन्छ । यसैगरी, उदयपुरबाट खोटाङ हुँदै र उदयपुरको सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाँध हुँदै पनि पुग्न सकिन्छ ।
वराहपोखरीमा स्थानीय शैलीका होटल प्रशस्त रहेकाले बास बस्नका लागि कुनै समस्या छैन । वराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिमल तरुल, घर तरुललगायत परिकारहरू प्रशस्तै पाइन्छन् ।

पोखरीको विशेषता
पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडैपहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा पनि पाइने हुँदा यहाँ पर्यटकको आकर्षण बढेको हो ।

पोखरीको दक्षिणपट्टि अवस्थित वराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास छ । बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने जनविश्वासका साथै शान्तिको कामनाका लागि जोडी परेवा उडाउने पनि गरिन्छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजा गरे सन्तान पाइने जनविश्वास पनि छ ।

हरिबोधनी एकादशीका अवसरमा लाग्ने मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन शतबीज छर्ने गरिन्छ ।
Baraha-pokhari-tal khotangma parewa udaudai copy copy
पर्यटकको सङ्ख्या बढ्दै
प्राकृतिक रूपमा सुन्दर तथा धार्मिक आस्थाको धरोहर मानिने वराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३ सयको हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । यस वर्षको मेलामा मात्रै डुङ्गा सयर गर्ने पर्यटकबाट रु ६० हजार सङ्कलन गरिएको पोखरी व्यवस्थापन समितिले जनाएको छ ।
हालै नेपाल सरकारले देशका १ सय गन्तव्यस्थलमध्ये यो पोखरीलाई एक गन्तव्यस्थलको रूपमा घोषणा गरेको छ । पोखरीमा बोटिङको पनि व्यवस्था गरिएको छ ।