विराटनगरः मोरङ–सुनसरी सिंँचाइ आयोजनाअन्तर्गतको नहरको सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् ।
मोरङको ग्रामथान गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राति ११ बजे सो सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको हो ।
सुनसरीको इटहरी– ११ का २२ वर्षीय चालक अक्षय तबदारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय नरेश चौधरी गम्भीर घाइते भएका र उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।