विराटनगरः पछिल्लो समय मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका सबै १७ वटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालनमा रहेको बताइएको छ । बर्थिङ सेन्टरको सुविधाले ग्रामीण क्षेत्रका महिलाले आफ्नै स्थानमा सहज रूपले प्रसूति सुविधा पाउन थालेका छन् ।

बर्थिङ सेन्टरमा छोरी जन्माउनेलाई पुरस्कार
मोरङको धनपालथान गाउँपालिकाले बर्थिङ सेन्टरमा प्रसूति गराएर पहिलो छोरी जन्माउने आमालाई ५ हजार रुपैयाँ पुरस्कार दिने गरिएको छ । साथै नेपाल सरकारले सुत्केरीलाई दिँदै आएको रकममा थप ५ सय प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बर्थिङ सेन्टरमा सुुत्केरी गराउने महिलालाई निःशुुल्क औषधि र अन्य सेवासमेत दिँदै आएको उक्त गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ऋषिराम सेठले बताए । स्थानीय तहमा बर्थिङ सेवा सञ्चालन भएपछि विपन्न वर्गका महिला बढी लाभान्वित भएका छन् ।

स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आउने सङ्ख्यामा भएको वृद्धिले आमा तथा बच्चाको मृत्यु सङ्ख्यामा समेत न्यूनीकरण गर्न सहयोग पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।