इटहरीः महेन्द्र बहुमुखी क्याम्पस धरानको नाममा रहेको जग्गा हडप्न स्थानीय भूमाफिया सक्रिय भएको पाइएको छ । महेन्द्र बहुमुखी क्याम्पसको नाममा रहेको १७ कठ्ठा १८ धुर जग्गा लिलाम गर्ने कार्यमा भूमाफियाहरू सक्रिय भएका हुन् । २०३४ असार २४ गते श्यामगाेविन्द श्रेष्ठमार्फत् क्याम्पसले खरिद गरेको जग्गामा मोही विवाद निकालेर लिलाम गर्न लागिएको जग्गाको मोही हकभोग मागिएको हो ।

क्याम्पस प्रमुख चन्द्रकुमार राईका अनुसार क्याम्पसले चन्दा उठाएर किनेको जग्गामा बाहिरका लोभीपापीको ध्यान गएको छ । जुन जग्गामा ०३५ सालमा प्राध्यापक आवास गृह निर्माण गरिएको उनको भनाइ छ । तत्कालीन अवस्थामा मोही देखिएका डम्बरबहादुर घिमिरे लगायत केही मोहीको समस्या समाधान भएको र हाल कुनै पनि मोही नभएका कारण अनावश्यक रूपमा बखेडा झिक्ने काम भइरहेको उनी बताउँछन् ।

बाहिरका जग्गा व्यवसायीको उक्साहटमा लागेर डम्बरबहादुरका माइला छोरा यज्ञबहादुर घिमिरेले भूमिसुधार कार्यालयमा मोहीको हकभोग कायम गरिपाऊँ भनी निवेदन हालेका छन् । डम्बरबहादुर मोहीबाट हटेको २० वर्षपछि यज्ञबहादुर घिमिरेले निवेदन हालेका हुन् ।

क्याम्पस प्रमुख राईका अनुसार घिमिरेले भूमिसुधार कार्यालयमा मोहीको हक पाउँ भनी निवेदन हाल्नको लागि वडाको सिफारिश लिन जाँदा क्याम्पसले सिफारिश नदिनू भनेपछि वडाले सिफारिश नदिएपछि उपमेयर गुहारिएको थियो । उपमेयर तथा कार्यवाहक मेयर मञ्जु भण्डारीले सिफारिश दिनू भनेपछि वडा कार्यालयबाट मोही नामसारीको लागि सिफारिश भएको थियो । उपमेयर आफैँ जग्गा दलालको चङ्गुलमा फसेको क्याम्पस प्रमुखको आरोप छ ।

घिमिरेले पनि कानुनी बाटो अपनाएका कारण आफूहरू पनि त्यही अनुसार अगाडि बढ्ने क्याम्पस प्रमुख राईको भनाइ छ । ४१ वर्षदेखि घिमिरे परिवारले जोतभोग नगरेका कारण उनीहरूको दाबी कमजोर रहेको उनी बताउँछन् ।

उता क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै विद्यार्थी सङ्गठन पनि आन्दोलनमा उत्रिएका छन् । विभिन्न धर्ना र जुलुसमार्फत् उनीहरूले जग्गा हडप्न नपाइने नारा लगाउँदै आएका छन् । करोडौँ पर्ने जग्गा हडप्न भूमाफिया सक्रिय भएको तर आफूहरू भूमाफियासँग नडराउने महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव दोर्ची शेर्पा बताउँछन् ।

दलालले उचालेकै भरमा उचालिनेहरू आफैँ ठेगान लाग्ने उनको भनाइ छ । यस्तो विषयमा जनप्रतिनिधि स्वयम् भूमाफियाको पक्षमा लाग्नु लज्जास्पद रहेको उनी बताउँछन् । विद्यार्थी सङ्गठनले १३ सदस्यीय समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । नगरपालिका घेराउदेखि कालो पट्टी बाँधेर आन्दोलन गर्ने सम्मका कार्यक्रम गर्ने शेर्पाले जानकारी दिए । उनीहरूले मङ्गलबार मात्रै नगरपालिका कार्यालयभित्र भूमाफियाको विरुद्धमा नारा जुलुस गरेका थिए ।

दबाब दिएको छैनः उपमेयर भण्डारी
उपमेयर मञ्जु भण्डारी भने आफूले यस विषयमा कुनै दबाब नदिएको बताउँछिन् । ‘एउटा मोही किसानको छोरो सम्पूर्ण कागजपत्र मिलाएर आफ्नो हक माग्न आउँछ भने हामीले रोक्न मिल्दैन’, उनी भन्छिन्, ‘मैले वडाध्यक्षलाई सम्पुर्ण कागज पु¥याएर र क्याम्पसलाई समेत जानकारी गराएर सिफारिश दिनुस् भनेकी हुँ ।’
मोहियानी हक किसान आन्दोलनको उपज भएको र आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता समेत रहेकाले किसानको हितमा काम गर्नु आफ्नो कर्तव्य रहेको उनको भनाइ छ । क्याम्पस प्रशासन आफैँले आफ्नो सम्पत्ति संरक्षण गर्न नसकेको र अहिले अरुलाई आरोप लगाएको उनले बताइन् ।