इटहरीः प्रदेश पोर्टलसहित विभिन्न सञ्चार माध्यममा रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको तीन टोलियाको मुसहर बस्तीका बालबालिका विद्यालय नै नजाने गरेको समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको ध्यानाकर्षण भएको छ ।
समाचार प्रकाशन हुनुभन्दा पहिला तीन टोलियाको बस्तीको बारेमा आफ” जानकार रहेको र केही प्रयासहरु गरेको भएता पनि बालबालिकालाई विद्यालयसम्म पुर्याउन नसकेको बताउने रामधुनी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम चौधरीले सामाजिक अभियन्तासहित तीन टोलियाको बस्ती अवलोकन गरेका हुन् ।
करिब ३५ घरधुरी सदा (म’सहर) समुदाय रहेको उक्त बस्तीमा सयभन्दा बढी बालबालिका भएपनि मुस्किलले २० जना बालबालिका मात्र विद्यालय जाने गरेको समाचार प्रदेश पोर्टलमा गत हप्ता प्रकाशन भएको थियो भने अन्य सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ प्रसारण तथा प्रकाशन गरेका थिए ।
सदा समुदाय रहेको बस्तीको अनुगमनको क्रममा वडा अध्यक्ष घनश्याम चौधरीले अब तीन टोलिया बस्तीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बालबालिकालाई पढ्ने वातावरण बनाउने नजिकै बाल विकासको स्थापना गर्ने अथवा अन्य केही विकल्प ल्याउने चौधरीले बताएका छन् । त्यसैगरी आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय नपठाएको भन्ने सन्दर्भमा भने आफ”ले अभिभावकको लागि सीपमुलक तथा आयआर्जन गर्न सक्ने खालका तालिम सञ्चालन गर्ने वडाध्यक्ष चौधरीले बताए ।
रामधुनी नगरपालिका वडा नम्बर ९ मा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका चौधरीले अघिल्लो कार्यकालमा समेत आफ”ले उक्त बस्तीका लागि बिजुलीको व्यवस्था गर्ने काम गरेको र सबै घरधुरीलाई चर्पी बनाउनका लागि भन्दै प्यानसमेत वितरण गरेको बताएका थिए । अब भने आफ”ले विशेष पहल गर्ने र माथिल्लो सरकारमा पनि पहल गरेर तीन टोलिया बस्तीका बालबालिकालाई पढ्ने वातावरण मिलाउने चौधरीको वचन थियो ।