सोलुखुम्बुः सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ ।
महाकुलुङ गाउँपालिकाको वडा नम्बर ५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो ।
१८ वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा बुधबार पुगेको प्रहरीले सो विवाह रोकेको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जनाए । विवाह हुनबाट रोकिएका तीनै जना बालिकालाई स्थानीय जनप्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको शर्माले जानकारी दिएका छन् ।
बालविवाह रोकथामका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला पक्षले जोड दिएका छन् । हिमाली जिल्ला सोलुखुम्बुका अधिकांश क्षेत्रमा अझै पनि बालविवाह कायमै छ ।