धनकुटाः एक समय स्थानीयको मुख्य आकर्षण बनेका धनकुटाका घरेलु उद्योगबाट उत्पादन हुने छालाका जुत्ता यतिबेला भने सङ्कटमा परेका छन् । आयातीत तयारी जुत्ता र चप्पलसँग प्रतिष्पर्धा गर्न नसक्दा उद्योग सङ्कटमा परेका हुन् ।

परम्परागत घरेलु प्रविधिबाट धनकुटामा उत्पादन हुने छालाका जुत्ताचप्पल यतिबेला भने विस्थापित हुने अवस्थामा पुगेका छन् । धनकुटामा मात्र नभई जिल्ला बाहिरका अन्य स्थानमा ख्याति समेत कमाएकोे धनकुटामा उत्पादन हुने जुत्ता चप्पल यतिबेला भने विस्थापित हुने अवस्थामा पुगेका छन् ।

राणाकालमा धनकुटा पूर्वको गांैडा बनेसँगै फाट्टफुट्ट रूपमा जुत्ता उत्पादन शुरु भएको मानिन्छ । करिब ४ दशक यता भने धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा दर्जनभन्दा बढी जुत्ता चप्पल बनाउने उद्योगहरू स्थापना भएका थिए । तर अहिले विस्थापित हुने अवस्थामा पुगेका छन् ।

२०५२ सालसम्म लोकप्रिय रहेका धनकुटाका जुत्ताचप्पल त्यसयता भने आयातीत जुत्तासँग प्रतिस्पर्धा गर्न नसक्दा विस्थापित भएको धनकुटाका पुराना छाला जुत्ता व्यवसायी जयकुमार बोगटी बताउँछन् ।

‘उद्योगबाट उत्पादन भएको जुत्ता चप्पल झिलिक्क परेको हुन्छ । सस्तो हुन्छ,’ उनले भने, ‘हामीले उत्पादन गर्ने जुत्ता महङ्गो हुन्छ । त्यसैले सबैको ध्यान उद्योगवाट उत्पादन भएको जुत्ता चप्पलमै जान्छ ।’

       छालाको जुत्ता चप्पल उत्पादन गर्न श्रम, सीप र कच्चा पदार्थ बढी लाग्ने भएकाले न्यूनतम मूल्य १ हजार २ सयदेखि ३ हजार रुपैयाँसम्म पर्दछ । यस्ता जुत्ता मेसिनबाट निर्मित जुत्ताको तुलनामा टिकाउ र गुणस्तरीय हुने गर्छन् । गुणस्तर र टिकाउ भएकै कारण यहाँ उत्पादन भएका जुत्ता चप्पल लोकप्रिय हुनुको साथै राष्ट्रिय पुरस्कार समेत पाएका थिए ।

अहिले पनि यस्ता उद्योग प्रवद्र्धनको लागि जिल्लास्थित घरेलु उद्योग विकास समितिले समेत उपयुक्त प्रविधि हस्तान्तरण, परम्परागत उद्योग विकास, बजार प्रवद्र्धन लगायतका काम गर्दै आएको कार्यालयका सूचना अधिकारी दीपेन्द्र अधिकारीले बताए  ।

 तर यो सहयोग समेत प्रभावकारी बन्न सकेको छैन । साना उद्योगीका अनुसार ठूला कम्पनीले धेरै पूँजी लगाएर एकै पटक धेरै जुत्ता चप्पल उत्पादन गर्छन् । धेरै उत्पादन गर्दा लागत खर्च पनि कम लाग्छ र बजारमा सस्तोमा जुत्ताको किनबेच हुन्छ । जसका कारण स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न सक्दैनन् ।

यी साना उद्योगमा कामदारको अभाव, प्रविधिको अज्ञानता, आयातीत जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्ने क्षमता हुँदैन । जसले गर्दा साना उद्योग फस्टाउन नसकेका हुन्  । यी  मुख्य समस्याको सम्बोधन भएमा साना उद्योगी पनि टिक्न सक्ने बोगटी बताउँछन् ।

   घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा हाल १० उद्योग दर्ता भई सञ्चालनमा छन् । जसको वार्षिक उत्पादन करिब ५० लाख रुपैयाँ बराबरको हुने गरेको छ ।