इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले उद्यम विकास तालिम गराउने भन्दै तालिमसम्बन्धी स्वीकृति नै नभएको सँस्थामार्फत् तालिम सञ्चालन गरेर साढे नौ लाख रुपैयाँ स्वाहा पारेको पाइएको छ ।

नगरपालिकाले बाँसको फर्निचर बनाउने तालिम गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी टेनिङमार्फत् गराएर सरकारको कोषबाट २ लाख रुपैयाँ भुक्तान गरेको छ । कुनै पनि प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालनको लागि सीटीईभीटीबाट स्वीकृत भएको फर्ममार्फत् तालिम सञ्चालन गराउनुपर्नेमा उद्यम विकास तालिम सञ्चालन गर्दा नगरपालिकाले स्वीकृति नहेरी हचुवाका भरमा तालिम सञ्चालन गरेको पाइएको हो । 

तलिमका लागि सेवा प्रदायक छनौट गरी तालिम सञ्चालन गरेकोमा सँस्थाले पेस गरेका कागजातमा पालिकाले सञ्चालन गर्ने तालिमको लागि स्वीकृति प्राप्त गरेको नदेखिएको हो । रामधुनी नगरपालिकाले २०७७ चैत्र १० गते गौरीभक्त होटल म्यानेजमेन्टलाई २ लाख रुपैयाँ भुक्तान गरेको छ भने २०७८ असार २७ गते एनएस कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङ प्रा.लि. लाई ४ एडभान्स र ७ वटा आधारभूतसमेत गरी विभिन्न ११ वटा तालिम सञ्चालन गरेबापत ७ लाख ४५ हजार ४९० रुपैयाँ भुक्तानी दिएको महालेख परीक्षकको लेखापरीक्षणले देखाएको छ ।